षडक्षरी मणि मन्त्रको भावार्थ के होला?

उत्तर : “मणि धर्मको सार हो” भनिएझैँ *सद्धर्मपुण्डरीकनाममहायानसूत्र* तथा *मणि काबुम* नामक ग्रन्थहरूमा “मणि जपेको लाभ असीमित छन्” भनिएको छ। यद्यपि मणि जपका लाभहरू असंख्य भए पनि ती लाभहरू हाम्रो आशय तथा मणि मन्त्रको सार्थक अर्थ बुझेर सम्यक् अभ्यास गरेमा मात्र प्राप्त हुन सक्ने मलाई लाग्छ। त्यसकारण हामी बौद्ध अनुयायीहरूले मणि मन्त्रको अर्थ बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ।

यहाँ परमपावन पूज्य गुरु चिन्तामणिका वचनअनुसार भन्ने हो भने— “ॐ मणि पद्मे हुँः” भन्ने मन्त्र जप्नु राम्रो हुन्छ। मन्त्र जप्दा त्यसको अर्थ हामीले अवश्य सम्झनुपर्छ। किनभने यस छ अक्षरको अर्थ अत्यन्त गम्भीर तथा विशाल छ।

‘ॐ’ भन्ने यस अक्षरमा ‘अ’, ‘उ’ र ‘म्’ यी तीन अक्षर समेटिएका हुन्छन्। यी तीन अक्षरहरूले साधकका अशुद्ध तन, वचन र मन तथा बुद्धका शुद्ध काय, वाक् र चित्तलाई जनाउँछन्।

अब प्रश्न उठ्न सक्छ— के अशुद्ध तन, वचन र मन शुद्ध काय, वाक् र चित्तका स्वरूपमा परिवर्तन हुन सक्छन्? अथवा यी दुई मूलतः फरक हुन् त?

यसको उत्तरमा भन्नुपर्दा, सबै बुद्धहरू पनि कुनै समय हामीजस्तै साधारण प्राणी नै हुनुहुन्थ्यो। त्यसपछि सत्मार्गमा लागेर धर्मको अभ्यास जन्मजन्मान्तरसम्म निरन्तर गर्नुभई बोधिपद प्राप्त गर्नुभएको हो। बौद्ध धर्ममा आरम्भदेखि नै सर्वदोषरहित र सर्वज्ञानी व्यक्ति भएको मानिँदैन। शुद्ध काय, वाक् र चित्त अशुद्ध तन, वचन र मनका दोषहरू क्रमशः त्याग्दै जाँदा परिशुद्ध स्वभावमा परिणत भएर प्राप्त भएका हुन्।

यो कसरी सिद्ध हुन्छ? यसको उत्तर पछिका ‘मणि’ र ‘पद्म’ भन्ने अक्षरहरूले दिन्छन्।

‘मणि’ भनेको चिन्तामणि हो। यसले उपाय पक्ष, बोधिचित्त, करुणा तथा मैत्रीलाई जनाउँछ। जसरी चिन्तामणिमा दरिद्रता हटाउने गुण हुन्छ, त्यसरी नै बोधिचित्तमा पनि भव र निर्वाणका सबै दोषहरू हटाउने शक्ति हुन्छ। चिन्तामणिले प्राणीका आशा वा इच्छा पूरा गरेझैँ बोधिचित्तले पनि प्राणीहरूको कल्याण तथा इच्छापूर्ति गर्दछ।

‘पद्म’ भन्ने दुई अक्षरको अर्थ कमलको फूल हो। यसले प्रज्ञालाई जनाउँछ। जसरी कमलको फूल हिलोबाट उत्पन्न भए तापनि हिलोले लिप्त हुँदैन, त्यसरी नै प्रज्ञाले पनि आफूलाई अज्ञानका दोषहरूबाट बचाउने क्षमता राख्दछ। यदि प्रज्ञा (बुद्धि) छैन भने कुनै न कुनै भूल अवश्य हुन्छ।

प्रज्ञाका पनि अनित्य ज्ञानको प्रज्ञा, पुद्गल स्वतन्त्र वा द्रव्यसत्त्वले शून्य भएको ज्ञानको प्रज्ञा, विषय र विषयीका स्वभावमा भिन्नता नरहेको द्वयशून्य ज्ञानको प्रज्ञा, स्वलक्षण सिद्ध नरहेको शून्य ज्ञानको प्रज्ञा आदि विभिन्न प्रकार भए पनि मूलतः शून्यता जान्ने ज्ञान वा शून्यता-बोध गर्ने प्रज्ञा नै प्रधान हो।

अन्तिम अक्षर ‘हुँ’ ले असंभेद स्वभावलाई जनाउँछ। यसले आफ्नो चित्तसन्ततिका दोषहरूको शुद्धि निश्चित रूपमा अभेद उपाय र प्रज्ञामा आश्रित भएर प्राप्त गर्नुपर्ने जनाउँछ। सूत्रअनुसार असंभेद उपाय–प्रज्ञा भनेको उपायले युक्त प्रज्ञा र प्रज्ञाले युक्त उपायलाई बुझाउँछ। मन्त्र वा तन्त्रयानअनुसार भने त्यही नै निर्भेद उपाय–प्रज्ञा स्वरूपका परिपूर्ण अंशरूपी एक विज्ञानलाई जनाउँछ।

पञ्चजिनगोत्रका बीजाक्षरअनुसार ‘हुँ’ भनेको कसैले पनि सन्ततिलाई हल्लाउन नसक्ने अचल जिन अक्षोभ्यको बीजाक्षर हो। तसर्थ “ॐ मणि पद्मे हुँः” भन्ने छ अक्षरले अभेद उपाय–प्रज्ञा युगनद्ध मार्गको अभ्यासद्वारा आफ्नो अशुद्ध शरीर, वचन र मनलाई क्रमशः बुद्धका शुद्ध काय, वाक् र चित्तका स्वभावमा परिणत गर्न सकिने देखाउँछन्।

बुद्धत्व भनेको बाहिरबाट खोजेर प्राप्त गर्ने वस्तु होइन। त्यसलाई प्राप्त गर्ने हेतु वा सामर्थ्य आफ्नै चित्तसन्ततिमा विद्यमान रहेको भनिएको छ। भट्टारक मैत्रीयनाथले *महायान उत्तरतन्त्र* मा भन्नुभएको छ— “सबै प्राणीका चित्तसन्तानको स्वभाव परिपूर्ण रूपमा सिद्ध हुने शुद्ध बीज अर्थात् तथागतगर्भ प्रत्येकको आफ्नै चित्तसन्ततिमा विद्यमान हुन्छ।”

सारांशमा, मेरो विचारमा यसरी भन्नु र सोच्नु उपयुक्त हुन्छ ।

“हे गुरु आर्यलोकितेश्वर! हजुरले नै जान्नुहोस्। आकाश समान आमारूपी सम्पूर्ण प्राणीहरूका अशुद्ध शरीर, वचन र मन शुद्ध काय, वाक् र चित्तमा परिवर्तन हुन सक्ने सम्भावना भएझैँ, मणि अर्थात् उपायरूपी बोधिचित्त र पद्म अर्थात् शून्यता-ज्ञानरूपी प्रज्ञा— यी दुईको युगनद्ध अभ्यासद्वारा फलस्वरूप धर्मकाय र निर्माणकाय प्राप्त गर्न सकून् भन्ने प्रार्थना गर्दै, हामीले यी अर्थहरू बुझेर मणि जप्यौँ भने अवश्य नै शुभलाभ प्राप्त हुनेछ।”

लेखक
निरपेक्ष्य बौद्ध धर्मगुरु गेशे लोबसाङ दावा