मिलन शाक्य
निर्देशक, नागार्जुन इन्स्टिच्युट अफ बुद्धिस्ट स्टडिज्

१. पृष्ठभूमि

तिब्बती बौद्ध इतिहासका सर्वाधिक पूजनीय र प्रभावशाली व्यक्तित्व महायोगी जेत्सुन मिलारेपा (१०५२–११३५ ई.) को जीवनी सङ्घर्ष, रूपान्तरण र परम ज्ञानको एक अद्वितीय गाथा हो। उनको साधना यात्राको एक महत्वपूर्ण र अविच्छिन्न अध्याय नेपालको हिमाली भू–भागसँग जोडिएको छ।

आफ्नो युवावस्थामा परिवारमाथि भएको अन्यायको बदला लिन ‘अभिचार’ को प्रयोग गरी विनाश निम्त्याएका मिलारेपा पछि गहिरो पश्चात्तापले वशीभूत भई धर्ममार्गमा लाग्नुभयो।

उहाँका गुरु प्रसिद्ध अनुवादक मार्पा लोचावाले मिलारेपाको पूर्वपाप पखाल्न र अहङ्कार नष्ट गर्न उहाँलाई कयौँ वर्षसम्म कठोर शारीरिक तथा मानसिक श्रम गराउनुभयो। जब मिलारेपाले गुरुबाट अभिषेक र ‘महामुद्रा’ का गूढ उपदेशहरू प्राप्त गर्नुभयो, तब मार्पाले उहाँलाई जनसम्पर्कबाट टाढा रही हिमालका एकान्त गुफाहरूमा साधना गर्न आज्ञा दिनुभयो।

गुरु मार्पाले मिलारेपालाई विशेष रूपमा नेपालका पवित्र स्थलहरूको नाम लिएर त्यहाँ साधना गर्न निर्देशन दिनुभएको थियो। मार्पा स्वयंले पनि भारत जाने क्रममा नेपालका विभिन्न स्थानहरूमा समय बिताएकाले यहाँको आध्यात्मिक ऊर्जा र एकान्तको महत्त्व बुझ्नुभएको थियो। यही आज्ञा पालन गर्ने क्रममा मिलारेपा तिब्बतको सीमा पार गरी नेपालका लाब्ची, मनाङ, योल्मो र चुमजस्ता क्षेत्रहरूमा आइपुग्नुभयो।

नेपालका यी उच्च हिमाली क्षेत्रहरू केवल भौगोलिक एकान्तका लागि मात्र चयन गरिएका थिएनन्, बरु यी स्थानहरू बौद्ध तन्त्रमा ‘पीठ’ का रूपमा मानिन्छन्। मिलारेपाले यहाँको प्रतिकूल मौसम, भोकमरी तथा वन्यजन्तुको त्रासका बीच पनि आफ्नो ध्यानलाई निरन्तरता दिनुभयो। उहाँको नेपाल आगमनले यस क्षेत्रमा काग्यु सम्प्रदायको आधार मात्र निर्माण गरेन, बरु स्थानीय संस्कृति र मौखिक परम्परामा समेत अमिट छाप छोड्यो। मिलारेपाका ‘दोहा’ हरूमा नेपालका पहाड, झरना र प्राकृतिक सौन्दर्यको सजीव चित्रण पाइन्छ, जसले उहाँको साधना र नेपाली भूमिबीचको गहिरो सम्बन्धलाई पुष्टि गर्दछ।

२. नेपालका प्रमुख साधना स्थलहरूको विस्तृत विवरण

मिलारेपाले नेपालका हिमाली क्षेत्रहरूलाई आफ्नो ‘तपोभूमि’ बनाउनुका पछाडि गुरु मार्पाको विशेष निर्देशन तथा ती स्थानहरूको तान्त्रिक महत्त्व रहेको थियो। तीमध्ये मुख्य स्थलहरू यस प्रकार छन् :

२.१ काठमाडौँ उपत्यकाका साधना स्थलहरू

हिमाली क्षेत्रमा प्रवेश गर्नुअघि वा फर्किने क्रममा मिलारेपाले काठमाडौँ उपत्यकाका केही प्रमुख स्थानहरूमा समय बिताएको प्रमाण पाइन्छ :

साँखु :
प्राचीन व्यापारिक मार्गमा अवस्थित साँखुमा मिलारेपाले साधना गर्नुभएको थियो। यो स्थान वज्रयोगिनीको पवित्र स्थल भएकाले तान्त्रिक साधकका लागि विशेष महत्त्व राख्दछ।

ल्हासापाकु :
भक्तपुरमा अवस्थित यो ओडार मञ्जुश्रीस्थानका रूपमा पनि चिनिन्छ। यसले मिलारेपाको उपत्यकाका नेवार बौद्ध समुदाय र यहाँको शहरी सभ्यतासँगको सम्बन्धलाई देखाउँछ। यसलाई ‘ल्हासा जाने बाटोको ओडार’ पनि भनिन्छ, जसले तत्कालीन सांस्कृतिक आदानप्रदानलाई पुष्टि गर्दछ।

२.२ ह्योल्मो र चुम उपत्यकाको तपोभूमि

मिलारेपाको जीवनीमा ह्योल्मो र चुम उपत्यकाको भूमिका अत्यन्तै महत्वपूर्ण छ :

ह्योल्मो :
यहाँ मिलारेपाले प्रसिद्ध बाघ गुफाका साथै अन्य एकान्त गुफाहरूमा पनि साधना गर्नुभएको थियो। ह्योल्मोको शान्त तथा आध्यात्मिक वातावरणमा उहाँले प्रकृतिसँग संवाद गर्दै धेरै ‘दोहा’ हरू रचना गर्नुभयो।

चुम उपत्यका :
गोरखामा अवस्थित यो पवित्र भूमिमा मिलारेपाका दुई प्रमुख गुफाहरू प्रसिद्ध छन् :

परेवा गुफा : यहाँ उहाँले ध्यानको गहिरो अवस्था प्राप्त गर्नुभयो।
मारदर्शन गुफा : यहाँ उहाँले साधनामा आउने अवरोध वा ‘मार’ हरूलाई परास्त गर्नुभएको धार्मिक विश्वास छ।
२.३ लाब्ची र मनाङ : सिद्धिको शिखर

लाब्ची :
दोलखाको यस क्षेत्रमा मिलारेपाले लामो समयसम्म कठोर साधना गर्नुभयो।

मनाङ :
मनाङका विभिन्न गुफाहरूमा पनि उहाँले साधना गर्नुभएको उल्लेख पाइन्छ।

३. आधुनिक नेपाली साहित्य र अनुवादमा मिलारेपा

मिलारेपाको जीवनी तथा शतसहस्र दोहाहरूलाई नेपाली भाषामा अनुवाद गर्ने कार्यले नेपालको प्राज्ञिक तथा आध्यात्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। विशेषगरी ‘महामुद्रा’ र ‘महासन्धि’ जस्ता जटिल दार्शनिक शब्दावलीलाई मानक नेपाली भाषामा रूपान्तरण गरी अडियो–बुकमार्फत् जनमानसमा पुर्‍याउने प्रयासले मिलारेपाको दर्शनलाई अझ जीवन्त बनाएको छ।

६. निष्कर्ष

लाब्चीदेखि साँखु र ल्हासापाकुसम्म फैलिएका मिलारेपाका साधना स्थलहरूले नेपाललाई विश्वकै एक महत्वपूर्ण आध्यात्मिक केन्द्रका रूपमा स्थापित गरेका छन्। यी स्थलहरूको संरक्षण तथा यससम्बन्धी शोधमूलक कार्यहरूले नेपालको प्राचीन विरासतलाई अझ उचाइमा पुर्‍याउनेछ।

६. सन्दर्भ सामग्रीहरू

(विदेशी स्रोतहरू)

… (मूल पाठअनुसार)

नेपाली सन्दर्भ :

शाक्य, मीनबहादुर र मिलन — मिलारेपाको जीवनी, २००७।
शाक्य, मिलन — भट्टारक मिलारेपाका शतसहस्र दोहाहरू, २०२३।