उता कुनातिर टोकरी बोकेकाहरुले राता स्ट्रबेरी छर्लक्क भरेका थिए । ती राता स्ट्रबेरी भरिएका टोकरी एग्रोमार्ट घोराही–१४ को अफिसभित्र ओसारिरहन्थे । अफिसभित्र वीरेन्द्र खड्काको टिमले स्ट्रबेरी प्याक गर्दै र ग्राहकहरलाई स्ट्रबेरी दिदै गर्नुहुन्थ्यो । भित्ताको ठूलो सिसि क्यामराको पर्दामा बारीमा कसले के गरिरहेको छ भनेर खड्काले बेला बखत हेर्नुहुन्थ्यो । एक हुल बारीमा पस्थ्यो उसले मन लागेजति फोटो खिच्न, भिडियो बनाउन व्यस्त रहन्थ्यो । आहा कति राम्रो यस्तै शब्द बारीभित्र पस्नेहरुबाट निस्कन्थे । उनीहरु रहरै रहरमा समय बितेको थाहै पाउँदैनथे ।

बारीमा मनलाग्दी टिपेर खान भने छुट छैन । फोटा खिच्नका लागि वा टिकटक भिडियो बनाउन भने अनुमति लिएर पाइन्छ । ‘केही भागमा भिडियो बनाउन दिएका छौं’– सञ्चालक खड्काले भन्नुभयो– ‘स्ट्रबेरी विरुवाले असर त मान्छ नै । तर ग्राहकको खुशीको लागि पनि छोडेका छौं ।’ उहाँका अनुसार स्ट्रबेरी तीन महिना अघिदेखि पाकिरहेको छ । अब वैशाख १५ सम्म जान्छ । पाक्ने समय अझै एक महिना छ । नयाँ फल पनि छ फूल आइरहेको छ । उहाँका अनुसार चैतमा भएको वर्षातको पानीले असर गर्ला जस्तो लागेको थियो । दुई दिन पानी आयो अनि घाम लाग्यो । त्यसले बारीमा हिलो भयो । हिलोमा पनि रमाउने आन्तरिक पर्यटकहरु रोकिएनन् । विरुवालाई पानी चाहिएको थियो । पातमा धुलो जमेको थियो । सिंचाई पनि भयो धुलो पनि पखाल्यो । पानी आएर राम्रो भएको छ । यो पानीले स्ट्रबेरी खेती अझै मौलाउने र प्रशस्त मात्रामा फल्ने आशा छ ।

त्यस क्षेत्रमा खेती गर्न थालेको तेस्रो वर्ष चलिरहेको छ । सञ्चालक खड्काका अनुसार ग्यामरोजा र विन्टर डाउन गरी दुई जातको तेस्रो वर्ष लाग्दैछ । एउटा नुवाकोट ककनीको र अर्को इन्डियाबाट ल्याइएको छ । प्रत्येक वर्ष विरुवा फेर्नुपर्ने हो । फल निक्तिन्छ अनि फालिहाल्ने हो । उही विरुवा अर्को वर्षका लागि राखेपछि फलको गुणस्तरमा कमी आउँछ । बारीले अहिले सिजनमा दिनमा आठदेखि १० जनालाई रोजगारी दिएको सञ्चालक खड्काले बताउनुभयो । उहाँहरुले टिप्न, झार उम्रेको हटाउने काम गर्नुहुन्छ । मल्चिङ गरिएको हुनाले खास्सै झार आउँदैन र गोडमेल पनि गर्नुपर्दैन । प्रतिकिलो सात सय रुपैयाँ मूल्य छ । चैतमा बाहिर इण्डियाबाट आयो भने तलमाथि हुन्छ । फाल्नु परेका छैन ग्राहकको माया ममता बढी छ । फर्मबाट सेल बढी हुन्छ । पोखरा, बुटवल, नेपालगञ्ज पठाउँदै आएको छ । अहिले बेच्नमा समस्या छैन । अर्को साल अनलाइन अर्डर ल्याउने बताउनुभयो ।

दैनिक धेरैजना बारीमा आएर फोटा खिच्ने र भिडियो बनाउने गरेको अर्का सञ्चालक वीरेन्द्र वलीका भनाइ छ । उहाँका अनुसार फल टिप्न लागेको, खान लागेको भिडियो बनाउन खुब रुचाउँछन् । ग्राहकको रमाइलोका लागि पनि बारीमा जान दिइएको छ ।