नेपाल प्रिमियर लिगको तेस्रो सिजन सोमबार डीआरएस प्रविधिसहित सुरु हुँदा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो।
उद्घाटन खेलमा डीआरएस पहिलो पटक दोस्रो ओभरमै प्रयोग भयो र रिभ्युपछि दुई निर्णय बदलिएका थिए।
लुम्बिनी ८७ रनको लक्ष्य १० ओभरमै भेट्यो, जसमा डार्सी शर्टले ४० र आसिफ शेखले ३२ रन बनाए।
९ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटमा सोमबार एउटा नयाँ प्रविधि आधिकारिक रूपमा भित्रियो । आईसीसी विश्वकप देखि अन्तर्राष्ट्रिय क्रिकेटमा बारम्बार प्रयोग हुँदै आएको डिसिजन रिभ्यु सिस्टम अर्थात डीआरएस प्रविधिको प्रयोगसँगै नेपाली खेलकुदको ‘बिगेस्ट इभेन्ट’ को रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको पनि भव्यताका साथ सुरुवात भयो ।

बलरहरू चम्किएपछि साविक विजेता लुम्बिनी लायन्सले दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जितसहित उपाधि रक्षा अभियानमा पनि खरो उत्रियो ।