भिक्षु धर्मरत्न
बिश्व शान्ति बिहार
ञाण (ज्ञान) हाम्रो जीवनमा नभई नहुने हो । सुतमय ञाण भन्नाले सुनेर ज्ञान प्राप्त गर्ने हो । भगवान बुद्धको उपदेश अनुसार ज्ञान प्राप्तीका लागि धर्म श्रवणले मात्र ज्ञानको बिकाश हुन्छ । अन्यथा नराम्रो संगतका कारणले कुशल कार्य गर्नको सत्ता अकुशल कार्य गर्न पुग्छ । यस्को लागि मनुष्य जीवनको महत्व बुझेर कुशल कार्य गर्ने हो भने सबभन्दा पहिला हामीले कल्याण मित्रहरुको सत्संगत गर्नु अति आवश्यक हुन जरुरी छ । जस्ले गर्दा मनुष्य जीवन लिनु भनेको अतिनै दुर्लभ पनि हो । भगवान बुद्धले भन्नु हुन्छ , मनुष्य भएर जन्म लिनु पहिला पहिलाको कर्म वा पुण्यको आधारमा जन्म भएको हुन्छ । जस्ले गर्दा आफुले गरेर आएको कर्मको फल वा विपाक भोग गर्नु पर्ने अवस्था आएको हुन्छ । यस्ता विषय सम्बन्धि बुझ्नको लागि भगवान बुद्धले दिनु भएको शिक्षा जान्न धर्म देशना श्रवण गर्नु पनि अति आवश्यक हुन आउँछ । जसलाई श्रुतमय ञाण भनिन्छ । यहि श्रुतमय ञाण बाटै अविज्जा ( अविद्या ) लाई हटाई क्लेश बाट मुक्त हुन सहयोग मिल्दछ । यसरी क्लेशलाई, अविद्यालाई हटाउनको निमित्त धम्म श्रवण गर्नु अति आवश्यक छ । हाम्रा जीवनमा सफल पार्न हामीले गर्नु पर्ने चार प्रकारबाट कुशलधम्म सम्पादन गर्न सकिन्छ ।
१. कल्याण मित्रहरुको सत्संगत २. सद्धर्म श्रवण
३. धम्मानुधम्म पटिपदा ४. योनिसोमनसिकार

१. कल्याण मित्र सेवन गर्दा हामीहरुको जीवन सुखमय पूर्ण हुनेछ । किनकि कल्याणमित्रहरुको संगत गर्न पनि भाग्य अर्थात कर्म वा संस्कार राम्रो हुनुपर्छ । जसले पूर्वजन्ममा राम्रो पुण्यको कारणले गर्दा यस जन्ममा पनि राम्रै संस्कार लिएर आएको हुन्छ र कल्याणमित्र जस्ता ब्यक्तिहरुको संगतमा लागेको हुन्छ । त्यस्ता साथीहरु भेटेको अवस्थामा जीवन सार्थक बन्न पुग्छ ।

२. भगवान बुद्धबाट प्रतिपादित जतिपनि बाचन गर्नु भएको धर्म हो , त्यस धर्मलाईनै सद्धर्म भनिन्छ । जुन धर्र्म भवसंसार चक्रबाट मुक्त हुने मार्ग देखाउनु भएको थियो । भगवान शास्ता भन्नु हुन्छ “ एकायनो अयं भिक्खवे मग्गो सत्तानं विशुद्धिया ,शोक परिदेवानं समतिक्कमाय, दुक्ख दोमनस्सानं अठ्ठङ्गमाय, ञायस्स अधिगमाय, निब्बानस्स सच्चिकरणत्थाय , यदिदं चत्तारो सतिपट्ठानाति ति । ” जस्को अर्थ हो ः भिक्षु हो, यो चारवटा स्मृतिप्रस्थान छनजुन सबै सत्व प्राणीहरु विशुद्धिका लागी शोक परिदेवलाई हटाउन,वा विनाश गर्नका लागि, दुखः दौर्मनस्यलाई अतिक्रमण गर्नका लागि, आर्यमार्गलाई प्राप्तीका लागि । निर्वाणलाई साक्षात्कार गर्नका लागि एउटै मात्र मार्ग ( वाटो ) छन् । ती हुन् ः
कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना , धम्मानुपस्सना
यी सबै आफ्नै शरीरलाई हेरेर दुःख बाट मुक्त भएर जाने बताउनु भएको छ । यसरी दुःख बाट मुक्त हुने मार्ग लाई सद्धर्म अर्थात शुद्ध धर्म भनिएका हुन् । यस्ता धर्मका कुरा सुन्नुलाई सद्धर्म श्रवण गर्ने भनिएका हो ।

३. यो धम्मानुधम्म पटिपत्ति भन्नाले बुद्ध प्रति, धर्म प्रति, संघ प्रति भित्रि मन देखि पूजा गर्नु हो । जसरी हामीले बुद्ध धर्म संघ प्रति धर्मानुकूल धर्माचरण द्वारा पूजा गर्दा पञ्चाङ्ग वन्दना गर्दछौं । पञ्चाङ्ग वन्दना गर्दा दुइवटा घुंडाले टेकेर, दुइवटा हातले भुईंमा टेकेर , टाउकोले भुईं छुने गरी बुद्धको गुण धर्मको गुण र संघको गुणलाई सम्झि भित्रि चक्षु द्वारा अभिवादन गर्ने , वन्दना गर्ने हो ।

४. योनिसोमनसिकार भन्नाले भित्रि मन देखि त्रिरत्न (बुद्धरत्न, धर्मरत्न, संघरत्न)लाई स्वीकार गर्नु हो । भगवान बुद्धले ४५ बर्ष सम्म भित्र जतिपनि धर्म देशना गर्नु भयो , त्यसलाई मनसिकार गर्न योग्य छ । सो अबस्थामा जतिपनि उपासक उपासिका भएर भगवान बुद्धको देशना सुनेर योनिसोमनसिकार गर्नु भयो तिनिहरु सबै दुःखबाट मुक्त हुने मार्गमा पुग्नु भयो । त्यसबेला पनि भगवान बुद्ध प्रति ईष्र्या गर्ने, अन्धबिश्वास (विचिकिच्छा) शंका गर्ने जस्ता अयोनिसोमनसिकार गर्ने ब्यक्तिहरु नभएका होइनन् । त्यस्तो अवस्थामा पनि मुक्त हुनु (दुःखबाट) नसक्नुका कारण राम्रो संस्कार नभएकाले हुन् । त्यसो भनेको पूर्व जन्ममा पुण्य गरेको नपुगेकाले हुनुपर्छ । यस्तै हामीले अहिले पनि देख्दै आइरहेका छौ कि प्राय मानिसहरु बिहारमा जाउँ, त्यहाँ कार्यक्रम भैरहेको छ भन्दा जानलाई असजिलो मान्ने प्रयाप्त छन् । यसैले अयोनिसोमनसिकारले गर्दा अकुशल कार्य तिर धेरै नै फस्ने हुन्छ र जस्को कारण मृत्यु पछि अपाय दुर्गतिमा पर्न जाने धेरै सम्भव हुन्छ । त्यसैले भगवान बुद्धले देखाउनु भएको मार्ग दान शील भावना र सतिपट्ठान, विपश्यना ध्यानलाई योनिसोमनसिकार गर्न सकेको अवस्थामा हामी पनि जन्म, जरा, ब्याधि, मरण हुने दुःखबाट मुक्त भएर जाने निर्वाण धर्मलाई साक्षात गर्न सकिन्छ ।साधु साधु साधु ।
।। भवतु सब्ब मंगलं ।।