काठमाडौँ — प्रतिनिधिसभाको चुनावमा थुप्रै चुनावी गीत बने । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कति गीतहरू घण्टी बजे जसरी सामाजिक सञ्जालमा घन्किरहे । पुराना दलका चुनावी गीतले पनि प्रकाशमा नआएका होइनन् । तर, यो पटक चुनावमा यस्ता गीत बढी गुन्जिए, जसको सम्बन्ध चुनावसँग जोडिएकै थिएन । तर, चुनावी प्रचारमा प्रयोग हुँदा ती गीतले चुनावी गीतको पहिचान पाए । अहिले पनि कतिलाई चुनावी गीत र ती गीतमा फरक छुट्याउन आउँदैन । ज्वलन्त उदाहरण हो गीत- 'लेखौँ भविष्य' ।

'लेखौँ भविष्य आफ्नो आफैँ नै अरू कोही आई बनाउँदैन यो देश' भन्ने अंशलाई यो चुनावमा यसरी प्रयोग गरिए कि अहिले कतिले यसलाई रास्वपाको चुनावी गीत भनेर बुझ्छन् । अझ भन्नुपर्दा धेरैले यसलाई रास्वपाको चुनावी गीत भनेर सुन्दै आएका छन् । गीतको 'बल्नेछौँ रातमा राँको बनेर चिच्याई डाँकमा डाँको छोडेर' भन्ने अंशले त रास्वपाको बोली नै बोलेझैँ सुनियो । निर्वाचनमा नयाँ अनुहारलाई विश्वास गर्ने लहरबीच थुप्रैले यो गीतमा आफ्नो बोली भेटे । आफ्नो भाव भेटे । तर, यो चुनावी गीत भने होइन ।
दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म 'दिमाग खराब'मा समावेश गीत हो यो । 'यो देश' बोलको यो गीत निश्चल बस्नेतको फिल्ममा समावेश थियो । जुन गीत जेन-जी आन्दोलनबीच चर्चाको शिखरमा पुग्यो । तर, अहिले चुनावमा यो गीत 'एन्थम' बनेर गुन्जियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहका भिडियोलाई सामाजिक सञ्जालमा पोस्ट्याउनेले यही गीत प्रयोग गरिदिँदा कतिले यसलाई रास्वपाकै गीत ठानेँ । तर, यस गीतका संगीतकार एवं रचनाकार जयन जे वाइवा यो गीत चुनावी गीत नरहेको दाबी गर्छन् ।'यो चुनावी गीत होइन । यसमा कतै तपाईँ घण्टी सुन्नुहुन्नु । देश बन्नुपर्छ, देश के गर्दा बन्छ त भन्ने कुरा मात्रै हामीले यसमा व्यक्त गरेका हौँ,' संगीतकार वाइवाले भने, 'अहिले यो गीत चलेको देख्दा एकदम खुसी लाग्छ । यो गीत त रास्वपाले मात्रै होइन कांग्रेस र एमालेले पनि प्रयोग गरे नि । खासमा यो गीत देशका लागि बनाएको हो, चुनावका लागि होइन । मानिसलाई जागरूक बनाउन हामीले यो गीत ल्याएका थियौँ ।' वाइवाले भनेझैँ यदि तपाईँले टिकटकतिर भिडियो स्क्रोल गर्नुभयो भने रास्वपा मात्रै होइन अन्य दलले पनि यो गीतमाथि प्रचारका भिडियो बनाएको देखिन्छ ।

वाइवाका अनुसार दुई वर्षअघि निर्देशक निश्चल बस्नेतले उनलाई देशभक्तिको गीत लेख्न लगाएका थिए । अहिलेको पुस्तासँग मिल्ने भावसहितको गीत । त्यतिबेला फिल्म 'दिमाग खराब'को छायांकनको तयारी चलिरहो थियो । जयनले भावनात्मक गीत लेखिदिए । तर, निश्चललाई भावनात्मक भन्दा पनि जनताको भाव बोक्ने गीत चाहिएको थियो । जयनलाई पनि निश्चलसँग काम गर्ने हुटहुटी थियो । त्यसैले दुईबीच गीतमाथि लामो समय छलफल चलिरह्यो । एकदिन निश्चलले चलाउँदै गरेको बाइकको पछाडि चढेर ज्ञानेश्वरको उकालो चढ्दै गर्दा उनीसँग गफिँदा-गफिँदै वाइवालाई गीतका शब्द फुर्‍यो । उनले तत्कालै मोबाइलको अडियोमा शब्दहरू रेकर्ड गरे :लेखौँ भविष्य आफ्नो आफैँ नै अरू कोही आई बनाउँदैन यो देश

जङ्गार तरेर चाल्नु छ पाइला नथाक है अहिले बदल्नु छ परिवेश

बल्नेछौ रातमा राँको बनेर चिच्याई डाँकमा डाँको छोडेर

उठ्नेछ देश उदाउनेछौँ हामी यो भत्केको घरलाई उठाउनु छ माथि

त्यतिबेला जयनको दिमागमा गीतका शब्दसँगै मेलोडी पनि गुन्जियो । उनले घर पुगेर मेलोडी भरिदिए । खासमा निश्चललाई यो गीत 'गाउँ गाउँबाट उठ'जस्तै शक्तिशाली शब्द र भावसहितको बनाउनु थियो । स्क्रिप्ट लेख्ने क्रममा यो गीत कल्पँदै गर्दा पनि निश्चलको दिमागमा 'गाउँ गाउँ बाट उठ' आइरहेको थियो ।

'फिल्मको स्क्रिप्ट लेख्दै गर्दा कहाँ-कहाँ गीत चाहिन्छ ? कस्तो मुड र शब्दको गीत चाहिन्छ भनेर लेख्दै गएका थियौँ । अनि त्यतिबेलै फिल्मको यो ठाउँमा यस्तो गीत भनेर लेख्दै गएका थियौँ । जयनसँग पनि कुरा गरिरहेका थियौँ,' निश्चल सुनाउँछन्, 'यो गीत फिल्ममा जुन जुन समयमा आउँछ, त्यसमा खासमा पहिले गाउँ-गाउँबाट उठ भन्ने गीत राख्न खोजेका थियौँ । हामीलाई यो गीतजस्तो तगडा अरू छजस्तो लागेको थिएन । हरेक मानिस सचेत हुनुपर्छ, ब्युँझनुपर्छ भन्ने कुरा यो गीतले जुन शक्तिशाली शैलीमा बोल्छ, त्यसैले यसलाई राख्नुपर्छ भन्ने सोच थियो । तर, पछि जयनले म आफैँ केही कोसिस गर्छु भन्यो ।'निश्चलले 'गाउँ गाउँबाट उठ' जस्तै शक्तिशाली गीत आफूले बनाउन चाहिरहेको बताइदिएपछि नै हो जयन शब्द र मेलोडीहरूमा घोत्लिन थालेको । तर, निश्चललाई थाहा थियो, 'गाउँ गाउँबाट उठ'लाई विस्थापन गर्न सकिन्न, त्यस्तै गीत निकाल्न केही खतरै निकाल्नुपर्छ ।

'उसले लेखिरहेको थियो । त्यतिबेला धेरै नै छलफल गर्‍यौं । गीत यत्तिकै बन्दैन नि ! फिल्मको उक्त ठाउँमा के भन्न खोजिरहेको हो ? त्यही अनुरूपको गीत निकाल्न कस्तो शब्द प्रयोग गर्ने ? फेरि संगीत शक्तिशाली हुनुपर्‍यो । सुन्दा पनि जिरिङ्ग हुनुपर्‍यो भन्ने कुरा थियो । उसले बनाइरह्यो, कहिले के चित्त बुझ्दैन थियो,' निश्चलले विगत सम्झँदै भने, 'मैले जयनलाई फिल्मको दृश्य यस्तो छ, देशमा हामीले जे भोगिरहेका छौं, त्यो परिस्थितिमा तिमीले के खोजिरहेका हुन्थ्यौ त ? त्यही सम्झेर गीत लेख भनेँ, उसले लेख्यो ।'

निश्चलले भने अनुसार नै गीतका शब्दहरूमा धुन भरेर जयनले गीतको 'डमी' पठाइदिए । त्यसमाथि संगीत भरियो । अनि त गीत सुन्दा निश्चलको शरीरमा काँडा उम्रियो । उनलाई लाग्यो, 'गीत पाइयो ।''फाइनल गीत सुन्दा त्यतिबेला काँडा उम्रेको थियो । यतिको गीत भयो भने आफ्नो भोगाइ, भनाइ व्यक्त गरेझैँ हुन्छ भन्ने पनि लाग्यो । खासमा मन मस्तिष्कमा असर गरेपछि नै कुनै गीतले गुजबम्प दिने रहेछ,' निश्चलले सुनाए ।

जयनलाई पनि राष्ट्रभक्ति गीत लेख्ने मन थियो । निश्चलले गीत मन पराएपछि दिएको प्रतिक्रिया अझै उनले बिर्सेका छैनन् ।

'तिमीले के लेखेको छौ, तिमीलाई थाहै छैन । अब यो गीत ०८४ मा घन्किन्छ, 'निश्चलले भनेका कुरा सम्झँदै जयनले भने । तर, यो गीत ०८४ मा होइन ०८२ मै घन्कियो । गीतलाई कोरसका शैलीमा गाउने आइडिया निश्चलकै थियो । त्यही अनुरूप जयन, निश्चल र अर्का संगीतकार रोशन थापाको आवाजमा गीत रेकर्ड भयो । फिल्म प्रदर्शनपछि 'दिमाग खराब' हेरेका जतिले गीतलाई मन पराइदिए । तर, सोचेजस्तो गीत चलेन । पछि युट्युबमा गीत सार्वजनिक गरे । तर, पनि ६० हजार भ्युज कटेन । जयन सधैँ यो गीतको भ्युज र कमेन्टहरूमा आँखा पुर्‍याइरहन्थे । कारण आफैँलाई पनि मन परेको यो गीत अरूले मनपराइदिउन् भन्ने उनलाई लागिरहन्थ्यो ।

जेन-जी आन्दोलनभन्दा अघिसम्म २/३ लाख भ्युज नपुगेको यो गीत आन्दोलनपछि जेन-जीको गीत बनेर उदायो । 'यो गीत चल्नुपर्छ भन्ने अघिदेखि नै लागिरहन्थ्यो । जयनसँग पनि कुरा गर्थेँ । तर, सेन्सेसन नै भइसकेको थिएन । अहिलेको समयमा आउँदा यो गीतले पनि मलाई चिनाएको छ । यो गीत हाम्रो फिल्मको हो, मेरो आवाज पनि यसमा छ भनेर कति जनालाई थाहै थिएन,' निश्चल भन्छन्, 'आन्दोलनदेखि अहिलेसम्म आउँदा कति जेन-जीले यो गीतले हामीलाई साथ दिएको छ दाइ भनेर नै प्रतिक्रिया दिए । आन्दोलनपछि यो गीतले जुन ठाउँ पाउनुपर्ने थियो, त्यो पायो भन्ने लाग्यो ।'

निश्चललाई लाग्छ, लामो असन्तुष्टिले मानिसलाई विद्रोही बनाउँछ । त्यही विद्रोह भावसँग मिल्ने संगीत भइदिए त्यसमा समानुभूत गरिन्छ । त्यो संगीतले त्यो विद्रोहलाई पनि थप मलजल गरिदिन्छ । मानिसभित्रको त्यो आवेग र विद्रोह नै यो गीतमा व्यक्त भएको हुँदा 'लेखौँ भविष्य'लाई दर्शकले मन पराइदिएको हो भन्ने लाग्छ उनलाई ।

यसबीच जयन र निश्चलले यही गीतको र्‍याप भर्सन पनि निकाले । गीतको सुरुवातमै जयनले दुई लाइन थपिदिएका छन् :

अंकुशे काँडा रोपेर पवित्र पिपल उम्रिन्न

अब पनि केही सोचेनौँ भने कहिले पनि उठिन्न

खासमा यो गीतको र्‍याप भर्सनको आइडिया लिएर निश्चल आफैँ जयनकहाँ पुगेका थिए । 'अबचाहिँ मानिसलाई जागृत गराउनैपर्छ भनेर गीतमा यो दुई लाइन थपेको हुँ,' जयनले भने । गीतको यो भर्सनमा र्‍यापर मिस्टर डी (सन्दीप विष्ट)ले आम नेपाली जनताको समस्याहरुलाई गाइदिएका छन् । रोचक त यो भर्सनको भिडियोमा बालेन्द्र शाह देखिएका छन् । बालेन्द्रका चुनावी अभियानका भिडियोहरू यसमा प्रयोग छन् । 'बालेनप्रति आस राख्ने हामी सबैले उहाँलाई साथ गर्नुपर्छ भनेरै यो गीतमा उहाँको भिडियो प्रयोग गरिएको हो,' जयनले भने ।

'गाउँ गाउँबाट उठ'लाई रिफ्रेन्स लिँदै बनाइएको 'लेखौँ भविष्य' चलिरहँदा 'बलिदान' फिल्मको गीतले पनि चुनावमा बेग्लै चर्चा बटुल्यो । तर, यो पटक चुनावमा चलेको आवाज रामेशको थिएन । नेपथ्यका लोकप्रिय गायक अमृत गुरुङले गाएको 'गाउँ गाउँबाट उठ' भर्सनलाई प्रयोग गर्दै भिडियो बनाउनेहरू थुप्रै निस्किए । गीतलाई अमृतले जुन जागृत भावमा गाएका छन्, त्यही अंशमाथि अधिकांशले भिडियो बनाउँदै सामाजिक सञ्जालमा पोस्ट्याए ।

यो गीतको 'हातमा कलम हुनेहरु' भन्ने अन्तरामा 'कलम' शब्दलाई जसरी अमृतले गाएका छन् त्यो शैलीलाई धेरैले रुचाइदिए । चुनावमा यो पटक जति नयाँ अनुहार, नयाँ दल उदाए । जनताले जुन नयाँ अनुहारलाई विश्वास गर्दै समर्थन जनाए, उनीहरूले बनाएका भिडियोमा यी गीत प्रयोग गरिएका थिए । नयाँ दलका घरदैलो कार्यक्रममा हिँड्दाका अधिकांशका भिडियोमा यो गीत प्रयोग भएकै देखिन्छ । मतदानका दिन त अधिकांशले यही गीत प्रयोग गर्दै नीलो मसीले छाप बनाएको बुढी औंलासहितको तस्बिर सार्वजनिक गरेका थिए । जे होस्, रामेशको आवाजमा रेकर्ड भएको कालजयी यो गीतले निर्वाचनको नयाँ आवाज, विद्रोह र आक्रोशलाई प्रतिनिधित्व गरेकोजस्तो देखिन्थ्यो ।

योसँगै निर्वाचनमा निकै चर्चामा आएको अर्को गीत हो -'आम नेपाली बुवा' । 'झरीपछिको इन्द्रेणी' शीर्षकको फिल्ममा प्रयोग यो गीत खासमा बालेनको गीत हो । बालेनको स्वर भएकै कारण होला यो गीत जहाँ-जहाँ बालेन पुगे त्यहाँ-त्यहाँ प्रयोग भए । बालेनकै चुनावी प्रचारका दृश्यहरू रेकर्ड गर्ने अधिकांशले यही गीतलाई प्रयोग गरे । गीतमा प्रयोग 'कुन मन्दिरमा जान्छौँ यात्री' भन्ने चर्चित गीतको अंश त यो पटक 'भाइरल' नै भयो । कतै जनता मारमा परेको भिडियो सामाजिक सञ्जालमा राखिहाल्नु पर्‍यो, यही गीत चल्यो । टिकटकतिर भाइरल एउटा दृश्य छ, जहाँ आशिका तामाङ कुकुरलाई सुमसुम्याइरहेको देखिन्छ । त्यही भिडियोमा पनि यो गीत प्रयोग छ । आम नेपाली जनताको पीडा र समस्या समेटिएको यो गीत आम नेपाली जनताको हाल देखाउन निर्वाचनमा धेरैचोटि प्रयोग भए । बालेनलाई देख्नेबित्तिकै उनको खुट्टामा लम्पसार भएर ढोग्न पुगेको एक युवासहितको टिकटकमा पनि 'कुन मन्दिरमा' भन्ने अंशलाई प्रयोग गरिएको भेटिन्छ ।

'लेखौँ भविष्य' मात्रै होइन जेन-जीले खुबै मन पराएको 'छेडेर कलिला छाती' बोलको गीत पनि यो चुनावमा निकै प्रयोगमा आए । गीतका रचनाकार मोनिका थापाले यो गीत निर्वाचनमा यसरी चर्चामा आउला भनेर सोचेकी थिइनन् ।

जेन-जी आन्दोलनपछि आफूभित्रको विद्रोह र आक्रोश पोख्दै सार्वजनिक गरिएको यो गीत फेरि दर्शकले मनपराइदिँदा मोनिका खुसी छन् ।

'मेरो गीत चुनावमा फेरि बजेको सुन्दा एकदम खुसी लाग्यो । जे होस् प्रभावकारी ढंगले गीतले भूमिका खेल्यो, 'मोनिकाले भनिन्, 'यही गीतमार्फत मानिसले आफ्नो भावना व्यक्त गरे ।'

टिकटकमा यो गीतमाथि ७ हजारले भिडियो बनाएका छन् । भ्रष्टाचारका विषय समेट्दै ती विषयलाई नभुल्न सन्देशसहित यो गीतलाई थुप्रैले प्रयोग गरे ।

'जेन-जीहरुले भ्रष्टाचारका विषय भुल्नु हुँदैन भनेर मेरो गीतमाथि भिडियो बनाउनुभयो । हामीले यस्तो कुरा बिर्सनु हुन्न भनेर रिमाइन्डर गर्ने किसिमले मेरो गीत प्रयोग गर्नुभएको देखेँ,' मोनिकाले भनिन्, 'जेन-जी आन्दोलनमा सहिद हुनुभएकाहरुदेखि त्यो आन्दोलनको दृश्यहरू राख्दै यसलाई बिर्सनु हुन्न भनेर चुनावमा भिडियो बनाएको देखेँ ।'

यो गीतको भाषण अनुशासन भन्ने अंशलाई त जेन-जीले आफ्नो अभिव्यक्तिकै रूपमा प्रयोग गर्दै आएका छन् ।

भाषण, अनुशासन

यहाँ रासन मै, शासन

म बिनाचाहिँ, कसले

पुजिदिन्छ तेरो, आसन